लगातारको वर्षाका कारण नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने बजारको ६४ मोड क्षेत्रमा सडक मर्मत भइरहेको स्थानमा हिलो र चिप्लोपन बढेपछि राजमार्ग अवरुद्ध भएको हो। शुक्रबारदेखि नै सवारी आवागमन प्रभावित हुँदै आएको उक्त खण्डमा शनिबार बिहानदेखि परेको थप वर्षापछि दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
यसैबीच, नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। नारायणघाट–बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएको जनाएको छ।
कार्यालयका अनुसार बर्दघाटतर्फ जाने मालवाहक सवारीलाई त्रिवेणी चोक तथा दुम्कीवास बजार क्षेत्रमा रोकिने व्यवस्था मिलाइएको छ। यद्यपि, यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ।
सडक विस्तार तथा मर्मतको काम जारी रहेको दाउन्ने खण्डमा वर्षाका कारण सडक अत्यधिक चिप्लो बनेपछि ठूला मालवाहक सवारी चिप्लिने तथा अड्किने समस्या बढेकाले यस्तो निर्णय गरिएको योजना कार्यालयले जनाएको छ।
दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधनलाई वैकल्पिक रूपमा सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो। तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा उक्त मार्ग समेत अवरुद्ध भएको छ, जसले यातायात व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।
