मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

महाधिवेशन कहिले भन्ने विवाद समाधान गर्न कांग्रेस पदाधिकारीबीच तीव्र छलफल

प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद चुलिँदै गएपछि नेपाली कांग्रेसका शीर्ष पदाधिकारीहरू समाधानका लागि सक्रिय भएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेताहरूले मध्यमार्गी समाधान खोज्दै निरन्तर छलफल गरिरहेका छन्।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महाधिवेशनसम्बन्धी विवाद टुंग्याउन शीर्ष तहका नेताहरू अनौपचारिक रूपमा निरन्तर छलफलमा छन्। उनले भने, "भोलि बैठक बस्छ। केही न केही मध्यमार्गी प्रस्ताव ल्याउन नेतामाथि ठूलो दबाब छ। निश्चित रूपमा प्रस्ताव आउँछ।"

केन्द्रीय समिति बैठकमा दुई फरक प्रस्ताव, विवाद चर्किँदै

कात्तिक १९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको मिति निर्धारणबारे दुई फरक प्रस्ताव पेस भएका थिए।

  • महामन्त्री गगन थापाको प्रस्ताव: पुस १६ देखि १९ गतेसम्म महाधिवेशन।

  • सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव: वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन।

थापाको प्रस्तावलाई इतर समूहले समर्थन गरे भने यादवको प्रस्ताव संस्थापन पक्षले अघि बढाएपछि विवाद थप चर्किएको हो। पार्टीभित्रको दुवै धारबीच सहमति खोज्न डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायत का नेताहरू सक्रिय छन्।

बैठक स्थगित हुँदै, शनिबार पुनः बस्ने

असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन–सम्बन्धी विवाद मिल्न नसक्दा पटक–पटक सूचना टाँस्दै स्थगित हुँदै आएको छ। अब बैठक शनिबार दिउँसो १ बजे पुनः बस्ने तय गरिएको छ।

नेताहरूको भनाइअनुसार शनिबारको बैठकले महाधिवेशन मिति टुंग्याउने सम्भावना उच्च छ।