मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

लोत्सेमा तोडफोड, करोडौँको क्षति, के हो सोमबारको घटना ?

 

काठमाडौँ, २ फागुन । यातायात व्यवसायीले नयाँबसपार्कभित्र आफ्ना कम्पनीको सवारी साधन पार्किङ गर्न नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेपनि मजदुर भने त्यसको विरोध गरेर लोत्से मल तोडफोड गरेका छन् ।

विस २०५६ सालमा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुस्थित विष्णुमति किनारामा राष्ट्रिय बसपार्कका रुपमा सञ्चालनमा ल्याएको थियो ।

उक्त बसपार्कबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरु देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।

सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आएपनि माईक्रोबस र केही बसहरु भने अहिले नयाँबसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।

पछिल्लो समय नयाँबसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माईक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुरहरु सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका छन् ।

के हो सोमबारको घटना ?

नेपालका यातायात मजदुरहरुको छाता सङ्गठन अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल यातायात मजदुर सङ्घले आगामी माघ ३ गतेदेखि मजदुरको पक्षमा आन्दोलन गर्ने कार्यक्रम रहेको थियो ।

माघ २९ गते आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालयका सचिव, यातायात व्यवसायी तथा मजदुर सङ्गठनबीच बसेको बैठकले यातायात क्षेत्रका समस्या वार्ता र सम्वादमार्फत समाधान गर्ने निर्णय गरेको थियो । उक्त बैठकले यातायात क्षेत्र र मजदुरका समस्या समाधानका लागि विभिन्न समितिसमेत गठन गरेको थियो ।

आईतबार मन्त्रालयमा बसेको बैठक सकारात्मक रहेपनि सोमबार अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दिपक केसी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईलगायत मजदुरका नेताहरु नयाँ बसपार्कमा पुगेर आगामी माघ ३ गतेदेखि आन्दोलन गर्नेबारे र आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न भेला तथा सभा आयोजना गरेका थिए ।

नयाँ बसपार्कमा कार्यरत लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, मानव संशाधन प्रमुख पङ्कज मल्ललगायत कर्मचारीले नयाँ बसपार्कमा मजदुर भेला गर्दा आम यात्रुबीच नराम्रो सन्देश जाने भएकाले भेला बाहिर गएर गर्न सुझाव दिएपछि मजदुर नेता र लोत्सेका कर्मचारीबीच सामान्य विवाद र धकेलाधकेल भएको थियो ।

“यातायात व्यवसायीसँग सम्झौता गरेर सञ्चालन गरेको नयाँबसपार्कमा मजदुरले भेला तथा सभा गर्न लागेपछि नयाँबसपार्कभित्र कार्यक्रम नगरी कुनै पार्टी प्यालेसमा गएर आमसभा गर्नु भनेर रोक्न खोज्दा लोत्से मलमाथि चोरी र तोडफोड गरियो,”– मानव संशाधन प्रमुख मल्ल भन्नुहुन्छ । नयाँ बसपार्कभित्र जान नचाहने माईक्रो बस व्यवसायी तथा काउण्टरमा कार्यरत कर्मचारीले समेत मजदुरको आन्दोलनलाई सहयोग गरेपछि आन्दोलन थप उत्कर्षमा पुगेको थियो । सवारी जरिवना वापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाईसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका मजदुरलाई माईक्रोबस व्यवसायीले समेत साथ दिएपछि नयाँ बसपार्कमा हमला भएको मल्लको भनाई छ ।

“लोत्से मलभित्र भएको तोडफोड र चोरीको क्षतिपूर्ती कसले दिन्छ, व्यक्तिले बनाएको संरचनामा यसरी क्षति गर्न मिल्छ ?,”– मल्ल भन्नुहुन्छ । सोमबार दिउँसोको उक्त घटनालाई लिएर सोमबार साँझ प्रहरीका दुईवटा भ्यानमा आगो लगाउनुका साथै बालाजु चोकमा रहेको अस्थायी प्रहरी पोष्टमा समेत आन्दोलनकारीले आगो लगाएका थिए । आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १४ प्रहरी घाइते भएका छन् भने आन्दोलनकारीसमेत घाइते भएका छन् ।

त्यस्तै, सोमबारै राती नयाँ बसपार्कस्थित लोत्से मलभित्र ढुङ्गाले हानेर सिसा तोडफोड गर्नुका साथै पसलभित्रै छिरेर करोडौँको मोबाइल लुटेर भागेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई यातायात क्षेत्रको सुधारका लागि आन्दोलन गरिएको बताउनुहुन्छ ।

नयाँ बसपार्कमा घटेको घटनाको विषयलाई लिएर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ती जारी गरी नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिल समेत गर्नुभएको छ ।

यसैबीच सरकारले आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार वार्ताका लागि बोलाएको छ ।

आन्दोलनरत यातायात मजदुरलाई मङ्लबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतम बताउनुहुन्छ । यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।