मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रधानमन्त्री कार्कीले चुनावी सुरक्षामा नेपाली सेनालाई कडाइका साथ लाग्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि शान्ति–सुरक्षा सुनिश्चित गर्दै विश्वसनीय र भयरहित निर्वाचन वातावरण निर्माण गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ।

काठमाडौँको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा पुगेर सुरक्षा तयारीबारे निरीक्षण गर्दै प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीअनुरूप स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने अभियानमा सेनाको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो।

प्रधानमन्त्रीले सबै राजनीतिक दलका गतिविधिहरू अवरोधविहीन रूपमा सञ्चालन हुने वातावरण बनाउन स्पष्ट कार्ययोजना तयार गरी अघि बढ्न सेनालाई आग्रह गर्नुभयो। उहाँले नागरिकको ज्यान जोखिममा पर्ने कुनै अवस्था सिर्जना हुन नदिन, विगतका अनुभव र हालको सुरक्षा परिस्थिति विश्लेषण गरी अन्य सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्दा निर्वाचन प्रक्रिया त्रुटिरहित हुने उल्लेख गर्नुभयो।

नवयुव अभियानका क्रममा लुटिएका वा हराइएका हातहतियारको खोजतलासमा प्रहरी र अन्य सुरक्षा निकायसँग सहकार्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोमबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि सेनाको परिचालन स्वीकृति दिनुभएसँगै सुरक्षा तयारी औपचारिक रूपमा अघि बढेको छ।