नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणका लागि आत्मसमीक्षा र जनसम्पर्क विस्तारमा सक्रिय हुन निर्देशन दिनुभएको छ।
पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र उठेका बहस, सङ्गठनात्मक अवस्था र आउँदो रणनीतिबारे धारणा राख्नुभयो। उहाँले नागरिकमाझ फेरि पार्टीप्रति विश्वास बढेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सकेमात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताउनुभयो।
अध्यक्ष प्रचण्डले नेता–कार्यकर्तालाई गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न आग्रह गर्दै, पार्टीभित्र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टी सरकारमा रहँदा हासिल गरेका उपलब्धि, त्यसपछिको खबरदारी अभियान र जनसङ्गठनले सञ्चालन गरेका गतिविधिहरूका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको दाबी पनि गर्नुभयो।
