काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशन आजदेखि औपचारिक रूपमा प्रारम्भ भएका छन्। अधिवेशन सुरुआतको अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीका सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई उत्साह, एकता र आपसी सद्भावका साथ सक्रिय सहभागिता जनाउन हार्दिक अपिल गरेका छन्।
नेता खड्काले एक अपिल जारी गर्दै पार्टीको लामो तथा गौरवशाली लोकतान्त्रिक इतिहासलाई अझ बलियो र सुदृढ बनाउन वडा तहको अधिवेशन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरेका छन्। तल्लो तहबाटै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले सम्पूर्ण साथीहरूलाई एकताबद्ध भएर अधिवेशनमा होमिन आग्रह गरे।
"पार्टीको ऐतिहासिक गरिमालाई कायम राख्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु प्रत्येक कांग्रेस कार्यकर्ताको कर्तव्य हो," खड्काले भने, "यस महत्वपूर्ण अवसरमा सबै साथीहरूले आन्तरिक एकता र आपसी सद्भाव कायम राख्दै उत्साहका साथ अधिवेशन सफल बनाउनुहुनेछ भन्ने अपेक्षा लिएको छु।"
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत आजदेखि सुरु भएको वडा अधिवेशनमार्फत देशभरका वडाहरूमा नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयनको कार्य अघि बढेको छ।