मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

आगामी फागुन २१ को चुनावअघि नयाँ दल दर्ताका चासो बढ्दै, अहिलेसम्म तीन फाइल मात्र आयोगमा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा सहभागी हुन नयाँ राजनीतिक दल दर्ता गर्न इच्छुक व्यक्तिहरूको चासो बढ्दो क्रममा रहेको छ। निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया बुझ्न पुग्नेहरूको संख्या बढ्दै गएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, हाल नयाँ दल दर्ताको प्रक्रिया बुझ्न धेरैजना आएका छन्, तर अहिलेसम्म तीन वटा मात्र फाइल औपचारिक रूपमा दर्ता भएका छन्। उनका अनुसार, दर्ता निवेदनका कागजातहरू अध्ययन गर्ने काम भइरहेको छ र सम्पूर्ण प्रक्रिया पूरा भएपछि दल दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ।

मौजुदा कानुनअनुसार नयाँ दल दर्ता गर्ने प्रक्रिया सारा वर्षभर खुला रहने व्यवस्था छ। तर आगामी चुनावमा भाग लिनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ।

आयोगले व्यवस्था गरेअनुसार, चुनावमा भाग लिने राजनीतिक दलहरूले मङ्सिर १ देखि १० गतेभित्र निर्वाचन प्रायोजनका लागि दल दर्ता गर्नुपर्ने हुन्छ। कात्तिक ३० गतेसम्म दर्ता स्वीकृति पाएका दलहरूलाई मात्र चुनावमा भाग लिन अनुमति दिइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।

हालसम्म एक सय २२ दलहरू दर्ता भइसकेका छन्। कानूनी व्यवस्थाअनुसार, नयाँ दल दर्ताका लागि कम्तीमा ५०० जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाणपत्र, र आवश्यक कानूनी कागजात अनिवार्य हुन्छ।

यसैबीच, निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफलको तयारी पनि अघि बढाएको छ। प्रवक्ता भट्टराईका अनुसार, पहिलो चरणमा २९ वटा दललाई भोलि बिहीवार छलफलका लागि बोलाइएको छ। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व भएका दलहरूलाई पहिलो चरणमा छलफलका लागि आमन्त्रित गरिएको र त्यसपछि अन्य दलहरूसँग पनि संवाद अगाडि बढाइने आयोगले जनाएको छ।