काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ।
अब नाम छुटेकाहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन्। तर निर्वाचन आयोगले सम्बन्धित निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्नुपर्नेछ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, “अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरूको नामावली संकलनको लागि बाटो खुलेको छ। त्यसका लागि आयोगले आवश्यक निर्णय गर्नेछ।”
जेन–जी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ। तर निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा विद्यमान कानुनअनुसार मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन।
राजनीतिक परिवर्तनमा भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि नाम दर्ता नभएकाले उनीहरूलाई मतदाता नामावलीमा समावेश गर्न कानुनी बाधा हटाउन अध्यादेश ल्याइएको हो।
यो अध्यादेशले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२)(२) मा रहेको ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने प्रावधानलाई संशोधन गरेको छ।
आयोगका अनुसार, यही प्रावधानका कारण रोकिने मतदाता नामावली संकलन खुलाउन अध्यादेश ल्याइएको हो।
