काठमाडौँ — सरकारले हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्रकुमार मेहताका साथै सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो। प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्नाले पीडित परिवारले न्यायको अनुभूति गर्नुका साथै राहत पुग्ने विश्वास सरकारले व्यक्त गरेको छ।