काठमाडौं – नयाँ मतदाताहरूले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन करिब डेढ महिनाको समय पाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघि मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको छ। सामान्यतया मतदानको १२० दिन अर्थात चार महिना अघि निर्वाचन कार्यक्रम सुरु हुन्छ।
आयोगका एक कर्मचारीका अनुसार, “करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ, त्यही आसपासको मिति राखेर सूचना निकाल्ने तयारी छ। सम्भवतः बिहीबारदेखि नै मतदाता नामावली संकलन खुला गर्न सकिन्छ।”
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने कि अध्यादेशले मतदाता नामावली संकलन र त्यसको अधिकतम मिति तोक्ने अधिकार आयोगलाई दिएको छ। उनले थपे, “अहिलेको कानुनले निर्वाचन घोषणा भएपछि मात्र मतदाता नामावली संकलनको व्यवस्था गरेको थियो, अब त्यो सीमा हटाएर कानुनी रुपमा सम्बोधन भएको छ।”
आयोगले प्रतिनिधिसभा उपनिर्वाचन लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो। तर, दुई वर्षपछि मात्र निर्वाचन हुने भएकाले त्यतिबेला १८ वर्ष पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन रुचि देखाएका थिएनन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेकाले चाँडै नै राजपत्रमा सूचना प्रकाशित हुने र त्यसपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन सम्बन्धी सूचना जारी गर्ने तयारी गरेको छ। आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा बुथ राखेर नामावली संकलन गर्नेछ। भीड बढेमा कर्मचारीको संख्या बढाएर व्यवस्थापन गर्न सकिनेछ।
पहिले जिल्ला प्रशासन कार्यालयहरूमा पनि मतदाता नामावली संकलन हुने गर्थ्यो, तर कतिपय कार्यालयमा जलेर काम अवरुद्ध हुन सक्ने सम्भावना देखिएको छ।
१८ वर्ष पुगेका र नागरिकताको प्रमाणपत्र बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउनेछन्। यसअघि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेबारे छलफल भए पनि २१ फागुनको निर्वाचनमा भने आवश्यक नपर्ने देखिन्छ।
पाँच वर्षअघिको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख थियो। त्यसअनुसार १८ वर्षमाथिको जनसंख्या करिब २ करोड १० लाख रहेको अनुमान छ। साढे तीन वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७७ लाख मतदाता थिए भने गत असारसम्म संकलित विवरण अनुसार कुल मतदाता संख्या १ करोड ८१ लाख पुगेको आयोगले जनाएको छ। भट्टराईका अनुसार अबको करिब डेढ महिनामा नयाँ मतदाता थपिनेछन्।
