ताइवानले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल एप रेडनोट (सियाओहोङ्श) मा एक वर्षका लागि पहुँच रोक्ने निर्णय गरेको छ। अनलाइन किनमेलसम्बन्धी बढ्दो ठगीका घटनाप्रति चासो बढेपछि यस्तो कदम उठाइएको बीबीसीले जनाएको छ।
ताइवानको आपराधिक अनुसन्धान ब्युरो (CIB) का अनुसार, गत वर्षदेखि एपमार्फत १,७०० भन्दा बढी ठगीका घटना दर्ता भएका छन्। यस अवधिमा ठगी रकम ७९ लाख अमेरिकी डलरभन्दा बढी पुगेको स्थानीय मिडियाका रिपोर्टहरूलाई उद्धृत गर्दै खबरमा जनाइएको छ।
टिकटकजस्तै भिडियो–आधारित प्लेटफर्म भएको रेडनोटमा बिल्ट–इन अनलाइन किनमेल सुविधा रहेको छ। स्थानीय समाचार अनुसार, ताइवानका इन्टरनेट सेवा प्रदायकहरूलाई एपमा पहुँच अवरुद्ध गर्ने आदेश दिइएको छ। यसले कम्तीमा ३० लाख ताइवानी प्रयोगकर्तामा प्रभाव पर्ने अनुमान छ।
ताइवानका समाचार संस्थाहरूले ठगीका घटनामा तीव्र वृद्धि भएको तथा एपले आवश्यक डाटा सुरक्षा मापदण्ड पूरा गर्न नसकेर प्रयोगकर्ताहरूलाई जोखिममा पारेको कारण प्रतिबन्ध लगाइएसेको बताएका छन्।
सन् २०१३ मा सुरू भएको रेडनोटका विश्वभर करोडौँ प्रयोगकर्ता छन्, र यो विशेषगरी एशियाली बजारमा अत्यधिक लोकप्रिय मानिन्छ।
