मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै संसदको यात्रा तय गर्नुभएको हो। उहाँले नेपाल मजदुर किसान पार्टीका प्रभावशाली नेता प्रेम सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गर्नुभयो। सुवालले कुल २८ हजार १४७ मत प्राप्त गर्नुभएको छ।

यस निर्वाचनमा परम्परागत शक्ति मानिएका ठूला दलहरूको उपस्थिति भने निकै कमजोर देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत मात्र प्राप्त गर्नुभयो भने नेकपा एमालेका सोमप्रसाद मिश्र ३ हजार ७२१ मतमा सीमित हुनुभयो।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरत बहादुर खड्काले २ हजार ४७२ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका हरिराम लवजूले १ हजार १७७ मत प्राप्त गर्नुभएको छ। लामो समयदेखि मजदुर किसान पार्टीको गढ मानिएको यस क्षेत्रमा रास्वपाको यो जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।