अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा कम्तीमा आठ सय व्यक्तिको मृत्यु भएको छ भने दुई हजार ८ सय जना घाइते भएका छन्।
स्थानीय समय अनुसार आइतवार मध्यरातमा पाकिस्तानको जलालाबादबाट २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। प्रभावित क्षेत्रमा परकम्प जारी रहेको र पहाडी भू–भागमा पहिरोले सडक अवरुद्ध हुँदा उद्धार कार्य प्रभावित भएको छ।
तालिबान सरकारले दुर्गम क्षेत्रका मानिससम्म पुग्न हेलिकप्टरको प्रयोग गर्दै उद्धार प्रयास तीव्र बनाएको छ। क्षतिको सबैभन्दा ठूलो असर कुनार प्रान्तमा परेको ठानिएको छ, जहाँको झण्डै ९० प्रतिशत भू–भाग पहाडी रहेको छ।
यो अफगानिस्तानको इतिहासकै एक सबैभन्दा भीषण भूकम्प मानिएको छ। सन् २०२२ मा पनि यस्तै भूकम्पमा झण्डै एक हजार जनाको मृत्यु भएको थियो। पहिरोका कारण दुर्गम गाउँमा उद्धार प्रयास अवरुद्ध हुँदा हवाई मार्गमार्फत राहत पुर्याउनुपर्ने अवस्था थियो।
