मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

थारू समुदायले अटवारी पर्व धूमधामका साथ मनाउँदै

पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व उल्लासका साथ मनाउँदैछन् । यो पर्व थारू समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व मानिन्छ ।

अटवारी पर्वमा शुक्रबार राति विशेष दर खाइन्छ भने शनिबार दिनभर व्रत बसेर बेलुका रोटी पकाई देवतालाई चढाइसकेपछि मात्र खाने परम्परा छ । आज बिहान भने भात र तरकारी पकाएर देवतालाई चढाएपछि मात्रै खान पाइन्छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार, रोटीसँगै दही, फलफूल र अन्य परिकार अग्नि देवतालाई अर्पण गर्ने र दिदीबहिनीका लागि अग्रासन छुट्याउने परम्परा छ । दाजुभाइहरूले आफ्ना दिदीबहिनीलाई रोटी, फलफूल तथा कोसेली पुर्‍याएपछि पर्व सम्पन्न हुन्छ । यसरी अटवारीले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार भीमको पूजा गरेर अटवारी पर्व मनाउने चलन पनि रहेको छ । थारू संस्कृतिविद् अशोक चौधरीका अनुसार, यो पर्वमा सूर्यलाई उज्यालो र जीवनको प्रतीकका रूपमा मानिन्छ ।

यस अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारू समुदायको घना बसोबास रहेका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका छ जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि साउन २५ गते बिदा दिने निर्णय भए पनि थारू समुदायको अटवारी पर्व भदौ ८ गते परेको हुँदा मिति संशोधन गरिएको हो ।