मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हरितालिका (तीज) पर्व आज देशभर पूजाआराधना सहित मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देशभर देवादिदेव महादेवको पूजाआराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ।

धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा उपासना गरे पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ। पौराणिक कथनअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। त्यसै दिनदेखि हरितालिका व्रतको परम्परा सुरु भएको धर्मशास्त्रमा उल्लेख पाइन्छ।

कथाअनुसार पार्वतीलाई विष्णुसँग विवाह गरिदिने तयारी हुँदा उनी आफ्नो इच्छाविपरीत भएको विषय साथीहरूलाई सुनाउँछिन्। पार्वतीलाई दुखमा परेको देखेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर शिवलाई वरका रूपमा पाउन सफल भएकी थिइन्।

‘हरितालिका’ शब्द संस्कृतका दुई पदबाट बनेको हो। ‘हरित’ भन्नाले हरण गरिएको भन्ने बुझिन्छ भने ‘आलिका’ को अर्थ साथी हुन्छ। यसै कारण पार्वतीका साथीहरूले उनलाई हरण गरी लुकाइदिएको दिन सम्झनाका रूपमा यो व्रत आजसम्म निरन्तर चलिआएको मानिन्छ।