नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्नो पदबहालीका क्रममा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। उहाँले आगामी फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनुलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ।
मुख्यसचिव अर्यालको दोस्रो महत्त्वपूर्ण प्रतिबद्धतामा भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने विषय समेटिएको छ। उहाँले निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रका रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पदबहाली गर्दै अर्यालले आफ्नो कार्यकालको सर्वोपरि लक्ष्य देशको गौरव र प्रतिष्ठा वृद्धि एवम् नागरिक सन्तुष्टि अभिवृद्धि हुने बताउनुभयो।
