रास्वपा दोलखाको पालिका संयोजक र विभागहरू तोकिए, प्रचार प्रमुखमा ओमकृष्ण आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले जिल्लाभर पार्टीको सांगठनिक सुदृढीकरण तथा प्रचार-प्रसार अभियानलाई तीव्रता दिन महत्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। सांगठनिक गतिविधिलाई चुस्त, दुरुस्त र चलायमान बनाउन पार्टीले जिल्लाका नौ वटै स्थानीय तहमा सहजीकरणका लागि संयोजक तोक्नुका साथै विभिन्न विभागीय प्रमुखहरूको समेत जिम्मेवारी तोकेको छ।

 

पार्टीको नीति, विचार र अभियानलाई जनस्तरसम्म सशक्त रूपमा पुर्‍याउने जिम्मेवारीसहित अभियान तथा प्रचार-प्रसार विभागको संयोजकमा ओमकृष्ण आचार्य चयन भएका छन्। नवनियुक्त संयोजक आचार्यको नेतृत्वमा ६ सदस्यीय प्रचार-प्रसार विभाग गठन गरिएको छ। विभागको उपप्रमुखमा दिलबहादुर केसी, सचिवमा जयराम खड्का तथा सदस्यहरूमा देवी घिमिरे, भवानीप्रसाद थपलिया र शंकर उप्रेती रहेका छन्।

 

प्रचार-प्रसार विभाग प्रमुख ओमकृष्ण आचार्यले दिएको जानकारी अनुसार दोलखामा पार्टीको सांगठनिक गतिविधिलाई पारदर्शी, प्रभावकारी र जनमुखी बनाउन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो।

 

जिल्लाको दैनिक कार्य सम्पादनलाई छिटो-छरितो र प्रभावकारी बनाउन ७ सदस्यीय जिल्ला पार्टी सचिवालय गठन गरिएको छ। जसमा ५ जना प्रमुख पदाधिकारीहरू (जिल्ला सभापति, उपसभापति, सचिव, सह-सचिव र कोषाध्यक्ष) का साथै सदस्यहरू प्रजिना थापा र ओमकृष्ण आचार्य रहेका छन्।

 

यसैगरी, पार्टीको सांगठनिक कामलाई थप व्यवस्थित बनाउन संगठन विभाग प्रमुखको जिम्मेवारी सह-सचिव अर्जुन कार्कीलाई दिइएको छ। सबै संगठनहरूलाई चुस्त र सुदृढ बनाउन तथा पालिका सभापतिहरूलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले पालिका संयोजकहरू तोकिएको संगठन विभाग प्रमुख अर्जुन कार्कीले बताएका छन्।

 

पार्टी विधानको दफा ७ (च) अनुसार पालिका सभापतिहरूसँग समन्वय र सहजीकरण गर्न तोकिएका संयोजकहरूमा भीमेश्वरमा दिनेश बस्नेत, मेलुङमा कृष्णबहादुर खड्का, बैतेश्वरमा रमेशकुमार श्रेष्ठ, तामाकोशीमा अर्जुन कार्की, जिरीमा प्रभा खाती घिमिरे, विगुमा ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशङ्करमा सुनिता पाण्डे रहेका छन्। भीमेश्वर संयोजक बस्नेतले सबै पालिकाको अनुगमनको समेत नेतृत्व गरिरहेका छन्।

 

त्यस्तै पार्टीले अन्य विभागहरूमा समेत प्रमुख तोकेको छ। जसअनुसार RAT सम्योजक हिरो भित्रीकोटी, स्वदेश विभाग प्रमुखमा चिरञ्जीवी खरेल र युवा तथा खेलकुद विभाग प्रमुखमा सुनापा थामीलाई जिम्मेवारी तोकिएको छ। बाबुलाल लामाको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार परिषद् समेत गठन गरिएको प्रचार संयोजक आचार्यले जानकारी दिएका छन्।