नबिल बैंकले चिनियाँ ठेकेदार कम्पनी सुइफा एएनएचई ग्रुपविरुद्ध दायर गरेको मुद्दामा जीत हासिल गरेको छ। चिनियाँ अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएसँगै बैंकले काउन्टर ग्यारेन्टीबापत चिनियाँ बैंक चाइना एभरब्राइटबाट पाउनुपर्ने १ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको छ।
त्रिशूली थ्री–बी जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको सुइफा एएनएचई ग्रुपले २०७४ फागुन ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर, सम्झौताअनुसार काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० मंसिर ३० गते सुइफा एएनएचईसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।
सम्झौता रद्द भएसँगै आयोजनाले बैंक ग्यारेन्टी जफत गरेको थियो। उक्त आयोजनाका लागि नबिल बैंक बैंक ग्यारेन्टी प्रदायक रहेको थियो। आयोजनाले नबिल बैंकसँग ग्यारेन्टी दाबी गर्दै एड्भान्स र पर्फमेन्स ग्यारेन्टीबापत ७४ करोड ५० हजार अमेरिकी डलर, नेपाली रुपैयाँमा करिब १ अर्ब ४ करोड रुपैयाँ, भुक्तानी लिएको थियो।
यसपछि नबिल बैंकले काउन्टर ग्यारेन्टीबापतको रकम दाबी गरे पनि चिनियाँ बैंक चाइना एभरब्राइटले भुक्तानी गर्न अस्वीकार गरेको थियो। भुक्तानी अस्वीकार भएपछि नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दाको अन्तिम सुनुवाइमा चिनियाँ अदालतले नबिल बैंकको पक्षमा फैसला गरेपछि बैंकले काउन्टर ग्यारेन्टीबापत चिनियाँ बैंक चाइना एभरब्राइटबाट १ अर्बभन्दा बढी रुपैयाँ रकम फिर्ता पाएको हो।
