देशभर आज यमपञ्चकको अवसरमा कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार तिहारको तेस्रो दिन परेको हो।
परम्पराअनुसार आज बिहान घरघरमा कुकुरलाई पूजा गरी टीका, माला र मीठा खानेकुरा अर्पण गरिन्छ। कुकुरलाई आज्ञापालक, निष्ठावान र सुरक्षामा भरपर्दो जनावरको रूपमा सम्मान गर्ने परम्परा छ।
आज दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले बेलुकी लक्ष्मीपूजाको शुभसन्ध्या पनि परेको छ। यस अवसरमा घरघरमा सरसफाइ, लिपपोत र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गरिँदैछ।
सन्ध्याकालमा आँगनदेखि पूजाकोठासम्म दीप प्रज्वलन गरी लक्ष्मीका पाइला बनाउने र झिलिमिली बत्ती बाल्ने चलन छ। पूजा सम्पन्न भएपछि युवतीहरूले समूह बनाएर भैलो खेल्दै घरघरमा शुभकामना आदान–प्रदान गर्ने परम्परा पनि रहिआएको छ।
यसै अवसरमा सरकारले शान्ति, समृद्धि र सौहार्दपूर्ण समाज निर्माणको कामना गर्दै सम्पूर्ण नेपालीहरूलाई शुभ दीपावली तथा कुकुर तिहारको शुभकामना दिएको छ।
