मंगलबार राजधानीमा भएको उग्र प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न प्रमुख सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ। यस घटनामा २५ हजारभन्दा बढी मुद्दासम्बन्धी कागजात जलेर नष्ट भएका छन्।
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको परिसरमा प्रवेश गरी कागजात जम्मा गरेर आगो लगाएका थिए।
पहिलो तलामा रहेको श्रीयन्त्र र ऐतिहासिक आँखी झ्यालमा क्षति पुगेको छ।
परिसरमा रहेका सवारी साधन जलाइएका छन्।
तेस्रो तलाको आइटी कक्ष र कम्प्युटर नष्ट भएका छन्।
प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारका चेम्बरमा आगजनी भएको छ।
एनेक्स भवनस्थित अभिलेख शाखा र कानुन पत्रिका प्रकाशन गर्ने विभागमा समेत क्षति पुगेको छ।
हेटौंडास्थित डाटा सेन्टरमा तोडफोड तथा आगजनी भएपछि सर्वोच्च अदालतको वेबसाइट बन्द भएको छ।
सर्वोच्च अदालतले आकस्मिक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सबै मुद्दा सुनुवाइ स्थगित गरेको छ।
अनेकौं फैसलासहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका छन्। डिजिटल रुपान्तरणको प्रक्रियामा रहेको विशेष अदालतसमेत क्षतिग्रस्त भएको बताइएको छ।
महान्यायाधिवक्ता कार्यालयमा तोडफोड र आगजनी।
विशेष अदालत र जिल्ला अदालत काठमाडौंका कागजात बाहिर निकालेर जलाइएका छन्।
माइतीघर मण्डलास्थित जिल्ला सरकारी वकिल तथा विशेष सरकारी वकिलका कार्यालयमा समेत क्षति पुगेको छ।
उग्र प्रदर्शनका क्रममा २४ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धसहित अन्य नीतिप्रति असन्तुष्ट जेनजी पुस्ताका युवाहरू सडकमा उत्रिँदा यस्तो हिंसात्मक अवस्था सिर्जना भएको हो।