सरकारले नयाँ ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै, युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसबारे जानकारी दिनुभयो।
पहिलेको नीति अनुसार (राष्ट्रिय युवा नीति–२०७२) युवाको उमेर १६ देखि ४० वर्षसम्म थियो। नयाँ नीतिमा नेपालको सन्दर्भ र अन्तर्राष्ट्रिय परिवेशअनुकूल १८–३५ वर्षको उमेर समूहलाई युवा मानिने उल्लेख गरिएको छ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा १६–४० वर्ष समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको थियो। बालबालिकासम्बन्धी ऐन अनुसार बालबालिका १८ वर्षसम्म मानिने भएकाले, नयाँ नीति अनुसार १८–३५ वर्षलाई युवामा समावेश गरिएको छ।
संयुक्त राष्ट्रसंघले १५–२४ वर्ष उमेर समूहलाई युवा मान्छ भने, भारतले पनि यही समूहलाई युवा मान्दै आएको छ। हरेक ५ वर्षमा नीति परिमार्जन गर्नुपर्ने भए पनि सरकारले १० वर्षपछि नयाँ नीति जारी गरेको हो।
