योगमायाको नाममा ठूलो खेल,७०० रोपनी जग्गा हुँदा पनि विश्वविद्यालय नै शरणार्थी,रजिस्ट्रार र उपकुलपतिमाथि प्रश्नै प्रश्न
"हात्ती आयो हात्ती आयो फुस्सा !" सङ्खुवासभामा ठूलो तामझामका साथ खोलिएको विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालयको हालको हविगत देख्दा जोकोही बुद्धिजीवीले भन्ने शब्द यही हो । विश्वभरका विद्यार्थीका लागि आयुर्वेद, योग, र जडीबुटी अनुसन्धानको 'ग्लोबल हब' बनाउने भन्दै बाँडिएको सपना अहिले आफ्नै बोझले थिचिएर छटपटाइरहेको छ । आयुर्वेद र वैकल्पिक चिकित्साको विकास गरी मुलुक समृद्ध बनाउने महान् लक्ष्यमा अहिले 'धमिरा' लाग्न थालेको छ । क्रान्तिकारी विदुषी योगमायाको नाम बेचेर खोलिएको यो विश्वविद्यालय अहिले लक्ष्यविहीन र गतिहीन बन्दै गएको भन्दै स्थानीय आक्रोशित छन् ।
नेतृत्वले बाटो देखाए पनि कार्यान्वयनमा शून्य!
यस विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पूर्व अध्यक्ष तथा स्थानीय सांसद डा. अर्जुनकुमार कार्कीले सुरुवाती दिनदेखि नै ठूलो प्रयास गरेका थिए । उनकै भिजन र पहलका कारण यो केन्द्र विश्वकै विद्यार्थीको अनुसन्धान थलो बन्ने आशा पलाएको थियो । सांसद भइसकेपछि पनि उनले संसद्मा यो संस्थाको नाम पटक-पटक उच्चारण गर्दै राज्यको ध्यान खिच्न र प्राथमिकता दिलाउन कुनै कसर बाँकी राखेनन् ।
तर, डा. कार्कीले संसद् र नीतिगत तहमा विश्वविद्यालयका लागि जतिसुकै मरिहत्ते गरे पनि जिल्ला तहमा रहेका प्रशासनिक पदाधिकारीहरूको अकर्मण्यताका कारण कामले गति लिन सकेन । अर्कातर्फ, विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुङ्गेलको आश्वासनको खेती भने कम छैन । "विश्वका विद्यार्थी यहाँ ल्याउँछौँ" भन्दै भाषण छाँट्ने उनको कार्यशैली भने ठ्याक्कै 'बिरालो बाँध्ने श्राद्ध' जस्तै बनेको छ । डा. कार्कीजस्ता भिजनरी नेताले देखाएको बाटोमा हिँड्न नसक्दा र काम भन्दा कुरा ठूला गर्ने प्रशासनिक प्रवृत्तिका कारण आज यो गौरवको आयोजना कोमामा पुग्दैछ ।
७०० रोपनी जग्गा अलपत्र, उपकुलपति र रजिस्ट्रारलाई लाज नलागेकै हो?
यो विश्वविद्यालयको आफ्नै सम्पत्ति सुन्दा जोकोही अचम्म पर्छन् । खाँदबारीस्थित ढुङ्गेबिसौनामा ५ सय रोपनी र भोजपुरको दिङ्लामा २ सय रोपनी गरी कुल ७०० रोपनी जग्गा यसको नाममा छ । तर, अचम्मको कुरा ! यति विशाल साम्राज्य हुँदाहुँदै पनि यो विश्वविद्यालय खाँदबारीको सिरानमा रहेको किरण क्याम्पसको एउटा सानो कोठामा 'शरणार्थी' बनेर खुम्चिएको छ । आफ्नो भव्य जग्गा छाडेर अर्काको कलेजमा भाडाको कोठामा बस्दा पनि तत्कालीनउपकुलपति डा. ढुङ्गेल र रजिस्ट्रार डम्बरध्वज चेम्जोङलगायतका उच्च हाकिमहरूलाई अलिकति पनि लाजवोध नहुनु लज्जास्पद विषय हो । नाम 'विश्वविद्यालय' को दिने तर हैसियत एउटा सामान्य स्थानीय क्याम्पस जस्तो पनि बनाउन नसक्ने हो भने यसको के औचित्य ? भन्दै जिल्लाबासीले सिधा प्रश्न उठाउन थालेका छन् । नागरिक अभियन्ता मातृका तिम्सिना पनि विश्वविद्यालय पूर्ण रूपमा लथालिङ्ग र भताभुङ्ग भएको ठोकुवा गर्छन् । नीति, नियम र विधि मिचेर चलाइएकाले यो संस्था 'तासको घर' जस्तै ढल्ने निश्चित रहेको र यसले विदुषी योगमायाकै बदनाम गराउने चिन्ता उनले व्यक्त गरे ।
२५ करोड बजेट फ्रिज: व्यवस्थापकीय लाचारी
यो कतिसम्म गैरजिम्मेवार छ भन्ने प्रमाण पाठ्यक्रम (सिलबस) र बजेट हेरे पुग्छ । विश्वविद्यालयको भविष्य र सिलेबस के हुने भन्ने अत्तोपत्तो छैन, तर हतार–हतार यसै वर्षदेखि पहिलो सेमेस्टरको पढाइ सुरु गरिएको नाटक मञ्चन गरिएको छ ।
त्यति मात्र कहाँ हो र ? जडीबुटीको राजधानी मानिने सङ्खुवासभाको यो प्रोजेक्टका लागि सरकारले गत वर्ष २५ करोड रुपैयाँ बजेट स्वीकृत गरेको थियो । तर, स्थानीय नेतृत्वको अक्षमता र योजनाविहीनताका कारण एक रुपैयाँ खर्च गर्न नसकेर पूरै २५ करोड बजेट फ्रिज भयो ! विश्वविद्यालयको यो हालत देख्दा 'बाँदरको हातमा नरिवल' भन्ने उखान दुरुस्तै लागू हुन्छ ।
सिनेट बैठक बस्दै, तर आशा शून्य !
यही अवस्थाका बीच विश्वविद्यालयको सिनेट बैठक आगामी ११ गते बस्दैछ । तर, हालसम्मको कछुवा गति र कङ्गाल कार्यदिशा हेर्दा यो बैठकले पनि केही नाप्ने छाँट देखिँदैन । डा. कार्कीले देश–विदेशका विद्यार्थी ल्याउने जुन मीठो सपना देखाएर जग बसालेका थिए, त्यसलाई अहिलेका पदाधिकारीले बुझ्न नसक्दा यो संस्था केही फुर्सदिला मान्छेहरूको क्लबमा परिणत भएको छ । कुनै पनि दिन यो संस्थामा ताला झुन्डिन सक्ने डर बढेको छ । स्थानीयबासीलाई देखाइएको त्यो 'कागती जस्तै मिठो' नारा, अहिले 'अमिलो यथार्थ' मा परिणत भइसकेको छ । सरोकारवालाहरू अझै कति दिन कानमा तेल हालेर बस्ने हुन् ? प्रश्न गम्भीर छ ।