मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

लगातार वर्षाले सात जिल्लामा सडक अवरुद्ध

देशभर भइरहेको लगातार वर्षाका कारण सात जिल्लाका सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पाँचथर, ओखलढुंगा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा सडक पूर्ण रूपमा बन्द भएका हुन्।

काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र रोशी गाउँपालिकामा पहिरो खस्दा बीपी राजमार्ग बिहानदेखि नै बन्द भएको छ। यस्तै, म्याग्दीको बेनी नगरपालिका–४ मा पहिरो खस्दा बेनी–दरवाङ सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर–६ अकरेभिरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। रसुवाको गोसाइँकुण्ड–२ मा पासाङल्हामु सडकखण्ड बन्द भएको छ भने पाँचथर–धनकुटा सिमानाको नावाखोलामा तमोर करिडोर अवरुद्ध बनेको छ।

त्यस्तै, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ कालाभिरमा पहिरो खसेर जोमसोम–कोरोला सडक अवरुद्ध भएको छ।

यससँगै, इलामको मेची राजमार्गमा हिजोदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा भोटखोला–४ बरुणखोलामा जेठ ६ गतेदेखि बन्द सडक अझै खुलेको छैन।

प्रहरीका अनुसार अवरुद्ध सडकहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ। लगातारको वर्षाका कारण सडक खुलाउने कार्यमा कठिनाइ भएको बताइएको छ।