मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रास्वपा नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत् पार्टी छोडेको जानकारी दिँदै लेखेकी छन्, “अब खुला रूपमा आक्रमण गर्न सहज बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्, मैले पार्टी छाडेँ।”

उनका अनुसार पार्टी नेतृत्वले बारम्बार गल्ती गर्ने तर त्यसलाई स्वीकार गर्ने संस्कार नभएकाले आफूलाई अस्वीकार्य भएको हो। “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबै कार्यकर्ताले बोक्नुपर्ने स्थिति सह्य भएन,” उनले टिप्पणी गरेकी छन्।

श्रेष्ठले पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत् दु:ख दिने र नेताप्रति अन्ध-निष्ठा कायम गर्न दबाब दिने प्रवृत्ति मौलाएको आरोप लगाएकी छन्। “जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म विरोध गरिरहेकी हुँ,” उनले भनिन्।

यसअघि उनी पार्टीको सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। सांसद भएकाले संगठनात्मक गतिविधिमा समय दिन नसक्ने भन्दै उनले राजीनामा दिएकी थिइन्। समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शिक्षामन्त्रीसमेत भएकी थिइन्।