नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गराउने तयारी गरिएको छ।
शर्माले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन। तर उनलाई रक्षा वा परराष्ट्र मन्त्रालयमध्ये एकको जिम्मेवारी दिने सम्भावना रहेको छ। यी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन्।
केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन्, जसमा शर्माले सकारात्मक जवाफ दिएका थिए।
को हुन् बालानन्द शर्मा ?
पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयका संयोजक समेत रहिसकेका छन्। नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजन प्रक्रियाका कुशल योजनाकारका रूपमा उनलाई चिनिन्छ।
राजनीतिक दबाबका बीच करिब ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा कमलाई मात्र समायोजनमा समेट्ने तथा स्वेच्छिक अवकास रोज्नेहरूलाई निश्चित रकम दिएर घर फर्काउने प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको रूपमा सफल नेतृत्व गरेका शर्मालाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो।
