नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी पुलबाट रेलिङ चोरी

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी पुलको रेलिङ चोरी भएको छ। भरतपुरस्थित डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान नियमित अनुगमनका क्रममा पुलको रेलिङ गायब भएको भेटिएको हो। आइतबार राति चोरी भएको अनुमान गरिएको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार तत्काल सुरक्षा व्यवस्थाका लागि पुलमा राति पनि देखिने पाइपहरू राखिएको छ। उनका अनुसार नयाँ पुलको आडैमा रहेको पुरानो पुलको फलामे रेलिङ चोरी भएको हो।

चोरीबारे चितवन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराइएको र चोरीमा संलग्न व्यक्तिहरुको खोजी सुरु गरिएको आचार्यले बताए।

कालीखोला नजिक रहेको नाम्सी पुल नारायणगढदेखि करिब ३२ किलोमिटर टाढा छ। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई जोड्ने यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्।

“दुर्घटना रोक्न राखिएका पूर्वाधार चोरी हुनु सामान्य होइन, गम्भीर अपराध हो,” आचार्यले भने। “यसलाई संवेदनशील रूपमा लिई संलग्न व्यक्तिहरुको खोजी भइरहेको छ।”