मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रक्रियामै पदबाट राजीनामा घोषणा गरेका छन्। सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बोलाइएको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै उनले राजीनामा सार्वजनिक गरे।
यादवले आज विश्वासको मत लिने तयारी गरे पनि आवश्यक समर्थन नपाउने देखेपछि बैठकमै पद त्यागेको घोषणा गरेका हुन्।
कात्तिक २४ गते बिहान महोत्तरीको बर्दिबासस्थित एक होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्रीको शपथ लिएका यादवलाई सात दलका सांसदहरूले चुनौती दिँदै सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ। तर सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एक सांसद निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका १–१ सांसदबाहेक सबै सांसद यादवको विपक्षमा रहेको स्थिति देखिएको थियो। यस्तो गणितीय अवस्थाका कारण विश्वासको मत आउँदैन भन्दै यादवले पद बाट हट्ने निर्णय गरेका हुन्।
