मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

काठमाण्डौमा इन्द्रजात्रा सुरु, आठ दिनसम्म विविध कार्यक्रम हुने

राजधानीको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। हनुमानढोका दरबार परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै जात्रा प्रारम्भ भएको हो।

बिहान १० बजेर ३१ मिनेटको साइतमा लिङ्गो ठड्याइएको थियो। इन्द्रजात्रा मनाउनका लागि भदौ ९ गते वनयात्रा गरेर लिङ्गोका लागि रुख काटिएको थियो भने भदौ १५ गते नगरभित्र ल्याएर तयार गरिएको थियो।

कार्यक्रमअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरवको रथयात्रा हुनेछ। त्यसपछि भदौ २६ गते राति १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो ढाल्ने विधिसहित यस वर्षको इन्द्रजात्रा सम्पन्न हुनेछ।

नेपाल भाषामा ‘यें याः’ भनेर चिनिने यस पर्वमा ‘यें’ भनेको कान्तिपुर नगर र ‘याः’ भनेको मुख्य जात्रा भन्ने बुझिन्छ। जात्राका अवसरमा देवी–देवता तथा विभिन्न धार्मिक प्रतीकहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने प्रचलन छ।

इन्द्रलाई वर्षा र सहकालका देवता मानिन्छ। नेवार समुदायको प्रमुख चाडका रूपमा मनाइने यो पर्वलाई हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले समान उत्साहका साथ मनाउने परम्परा रहँदै आएको छ। आठ दिनसम्म नाच, गान, बाजागाजा र रथयात्रासहित राजधानी उत्सवमय वातावरणले भरिनेछ।