विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–१ कमलपोखरीमा रहेको श्रीसालासर डिस्ट्रीब्युटर्स प्रालिलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि २ लाख १ हजार रुपैयाँ जरिवाना तिराएको हो।
त्यस्तै, विभागले अन्य दुई फर्मलाई पनि नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ। काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित विकास ट्रेड प्रालिलाई मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको कारण २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने काठमाडौं–१३ स्युचाटारस्थित नेपाल थोपा सिँचाइ प्रालिलाई पनि सोही कारण १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।
विभागले सोमबार कुल १६ वटा फर्मको अनुगमन गरेको थियो। तीमध्ये १३ फर्मलाई सामान्य निर्देशन दिइएको छ। विभागका अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्न र बजारमा अनुशासन कायम गर्न नियमित अनुगमनलाई निरन्तरता दिइनेछ।
