प्रधानमन्त्री कार्कीको सानो र निष्पक्ष मन्त्रिपरिषद्: ११ जनाभन्दा नबढ्ने

३१ भदौ, काठमाडौं ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् सानो र निष्पक्ष राख्ने संकेत दिएकी छन् । बीबीसी नेपालीसँगको विशेष अन्तर्वार्तामा उनले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने र नयाँ मन्त्रीहरूलाई दल–निरपेक्ष तथा पेशागत आधारमा छनोट गर्ने बताइन्।

उनका अनुसार, हाल तीन जना मन्त्री बनेपछि अब थपिने मन्त्रीहरूमा क्षमता र समावेशिता दुवैलाई प्राथमिकता दिइनेछ । “मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र जसको क्षमता छ त्यसअनुसार जिम्मेवारी दिने हो,” उनले भनिन् ।

कार्कीले स्पष्ट गरिन् कि चुनावमा प्रत्यक्ष सरोकार नराख्ने, गैर–राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई मन्त्रालयको जिम्मेवारी दिइनेछ । राजनीतिक दलसँग आबद्ध व्यक्तिलाई सरकारमा राख्दा निर्वाचन तयारीमा असर पर्न सक्ने भएकाले स्वतन्त्र र पेशागत अनुभव भएका पात्र खोजिरहेको उनको भनाइ छ ।