सरकारले सम्पत्ति शुद्धीकरण नियन्त्रण र पारदर्शिता कायम गर्न बहुमूल्य धातु तथा रत्न–वस्तुहरूको कारोबारमा कडाइ लागू गरेको छ। नेपाल ‘ग्रे–लिस्ट’ बाट छिट्टै बाहिरिनुपर्ने दबाब बढिरहेका बेला आन्तरिक राजस्व विभागले सुन, चाँदी, प्लाटिनम, डायमन्ड, रुबी, सफायरलगायत मूल्यवान धातु तथा रत्नहरूको कारोबारमा कडा नियमन गर्ने निर्देशन सार्वजनिक गरेको हो।
निर्देशनअनुसार कारोबार गर्ने सूचक संस्थाले व्यवसायिक बैंक खातामार्फत मात्रै लेनदेन गर्नुपर्नेछ। व्यक्तिगत, कर्मचारी वा परिवारका सदस्यका खाताबाट कारोबार गर्न निषेध गरिएको छ। एकपटकमा १० लाख रुपैयाँभन्दा बढी मूल्यको वस्तु बेचबिखन गर्दा ग्राहकको बैंक खातामार्फत भुक्तानी अनिवार्य गर्ने व्यवस्था पनि गरिएको छ। साथै विद्युतीय माध्यमबाट भुक्तानीलाई प्राथमिकता दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
निर्देशन उल्लंघन भएमा पहिलोपटक सचेतनामात्र दिइने, दोस्रोपटक १ लाख रुपैयाँ जरिवाना, तेस्रोपटकदेखि १० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना र अन्य कानुनी कारबाही गर्ने प्रावधान राखिएको विभागले जनाएको छ।
