मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अगस्टमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश, हिमाल आरोहणमा नयाँ शुल्क लागू

गत एक महिनामा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो।

यस अवधिमा सबैभन्दा बढी ४० प्रतिशत अर्थात् ३५ हजार भारतीय पर्यटक नेपाल भित्रिएका छन्। त्यसपछि चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक आएका छन्। चालु आर्थिक वर्षको पुसदेखि अहिलेसम्म झण्डै ७ लाख ३६ हजार ५६२ विदेशी पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ।

यसैबीच हिमाल आरोहणका लागि नयाँ शुल्क लागू भएको छ। पर्यटन विभागका अनुसार हिजोदेखि लागू भएको नयाँ नियमअनुसार विदेशी आरोहीले वसन्तयाममा सगरमाथाको दक्षिणपूर्वी नियमित मार्ग हुँदै आरोहण गर्न अब १५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ।

त्यस्तै शरद ऋतुमा ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा ३ हजार ७५० डलर तोकिएको छ। यसअघि शरद ऋतुमा ५ हजार ५ सय डलर र शिशिर–वर्षायाममा २ हजार ५ सय डलर लिने प्रचलन थियो।

सगरमाथाबाहेक ८ हजार मिटरभन्दा माथिका अन्य हिमालहरूमा विदेशीका लागि वसन्तयाममा ३ हजार, शरदमा १ हजार ५ सय र अन्य ऋतुमा ७५० डलर शुल्क निर्धारण गरिएको विभागले जनाएको छ।