उनका अनुसार १५ वाम घटकबीच भएको एकता नेपालको इतिहासमै पहिलो रेकर्ड हो। देशभरका क्रान्तिकारीहरू पार्टीप्रति नयाँ आशा र भरोसासहित हेरेर बसेको उनले दाबी गरे।
प्रचण्डले भने, “हामी यत्तिमै रोकिँदैनौं। राष्ट्रको रक्षा, जनताको आकांक्षा र आवश्यकता पूरा गर्न अझै वृहत् वाम एकता आवश्यक छ। अन्य वामपन्थी शक्तिसँग सहकार्यका लागि हाम्रो ध्यान एमालेतिर पनि समान रूपमा गएको छ। एमालेभित्र रहेका सबै देशभक्त र वाम क्रान्तिकारीहरू नेपाली कम्युनिस्ट पार्टीमै केन्द्रित हुनुपर्छ भन्ने हाम्रो जोड छ।”
धनगढीमा आयोजित सभामा एमाले छोडेर नेकपामा प्रवेश गरेका नेता–कार्यकर्तालाई धन्यवाद दिंदै उनले एमालेभित्र रहेका अन्य वामपन्थी नेताहरूलाई पनि पार्टीमा प्रवेश गर्न आह्वान गरे।
“नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम हामीले त्यत्तिकै राखेका होइनौं,” प्रचण्डले भने, “सबै वामपन्थीलाई अटाउन सक्ने संरचना हामी बनाउँदैछौं। अब कोही माओवादी, समाजवादी वा अर्को कुनै नाममा छुट्टिनुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिस्ट यही पार्टीभित्र अटाउन सक्छन्।”
