मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वरिष्ठताको क्रमअनुसार तोक्नुभएको संवैधानिक इजलासमा आजदेखि बहस सुरु भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी हुनुहुन्छ ।

उक्त इजलासमा प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै संसद् पुनःस्थापनाको मागसहित दायर १६ वटा रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । सुनुवाइको प्रारम्भमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गर्नुभएको हो । संसद् विघटनविरुद्धका रिटमा बहसकर्ताहरूलाई पाँच–पाँच मिनेटको समय तोकिएको छ ।

गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।

त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई संवैधानिक महत्वको विषयका रूपमा हेरिएको छ । यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दुई पटक संसद् विघटन हुँदा सर्वोच्च अदालतले दुवैपटक संसद् पुनःस्थापना गरेको थियो । तर, अहिलेको विघटन फरक परिस्थितिमा गरिएको भएकाले यो मुद्दालाई धेरैले विशेष चासोका साथ हेरेका छन् ।