प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ।
शेरचनलाई सीआईबीको टोलीले काठमाडौँको बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरेको हो। राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनसहितको प्रारम्भिक तथ्यका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।
यसअघि कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको थियो। यो कदम प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दर्ता गरेको ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरीको अनुसन्धान प्रक्रियासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ।
यस मुद्दामा सीआईबीले केही दिनअगाडि प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरेको थियो। भट्टचन भने हाजिर जमानीमा रिहा भइसकेका छन्।
सीआईबीले शेरचनको भूमिकासहित प्रकरणको सम्पूर्ण विवरणकाे अनुसन्धान जारी राखेको जनाएको छ।
