मानव अङ्ग मिर्गौला बेचबिखनमा संलग्न गिरोहका मुख्य नाइकेसहित थप दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले आज सिन्धुपाल्चोकका श्याम कृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई सार्वजनिक गरेको हो।
भण्डारीलाई महेन्द्रनगरबाट र भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भण्डारी नेतृत्वको गिरोहले पाँच जना नेपालीलाई भारतमा लगेर मिर्गौला बेचिसकेको खुलासा भएको छ।
प्रहरीका अनुसार गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट र धादिङका व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याएर मिर्गौला बेच्ने गरेको पाइएको छ। कतिपय पीडितलाई मिर्गौला झिकेपछि पैसा नदिई फर्काउने गरेको पनि खुलेको छ।
प्रारम्भिक बयानमा भण्डारीले एक मिर्गौलाबापत ६ लाख भारतीय रुपैयाँ लिने गरेको स्वीकार गरेका छन्। यसअघि नै गिरोहका पाँच जना पक्राउ परिसकेका थिए। अनुसन्धान अनुसार यो समूह एक सय जनाभन्दा बढी व्यक्तिको मिर्गौला बेचबिखनमा संलग्न छ।
