राज्यद्वारा हिजो गरिएको रक्तपात र बर्बर दमनको विरोधमा आज पनि युवापुस्ताले सडक नछोड्ने घोषणा गरेका छन्। राजधानीमा कर्फ्यु लगाएर डर देखाउने प्रयास भए पनि कलंकी, बानेश्वरसहित काठमाडौँका विभिन्न क्षेत्र, ललितपुर र भक्तपुरमा युवाहरू पुनः सडकमा उत्रिए।
सरकारले हिजोको प्रदर्शनमै १९ जनाको ज्यान लिएको थियो, चार सयभन्दा बढीलाई रगताम्य बनाएको थियो। तर यो भयावह सत्यले युवाहरूलाई झन् दृढ बनाएको छ—“हाम्रो आवाजलाई गोलीले रोकिन्न।”
कर्फ्यु लागेका सडकमा युवाहरूले चर्का नाराहरू गुञ्जाए :
“तानाशाही स्वीकार छैन!”
“जनताको रगतको हिसाब दे!”
“लोकतन्त्रको मुखौटा खोस!”
सुरक्षाकर्मीको घेराबन्दीबीचै युवाहरू सडकमा रोकिन परेनन्। यो प्रदर्शनले प्रष्ट देखाएको छ—सरकारको गोलीभन्दा जनताको साहस ठूलो हुन्छ।
मानवअधिकार आयोग, नागरिक समाज र विपक्षी दलहरूले हिजोको दमनलाई “लोकतन्त्रको हत्या” भनेका छन्।
सामाजिक सञ्जालमा युवाहरूको रगतले भिजेको फोटो र भिडियो विश्वभर फैलिएको छ।
अन्तर्राष्ट्रिय स्तरमै नेपाल सरकारमाथि प्रश्न उठ्न थालेको छ—“शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाउने यो कुन लोकतन्त्र?”
युवाहरूको रगत पोखिँदा पनि सरकार मौन छ। प्रधानमन्त्री र गृहमन्त्री अझै जिम्मेवारी लिने स्थितिमा छैनन्। बरु “स्थिति नियन्त्रणमा छ” भन्ने ढोंगपूर्ण अभिव्यक्ति दिइरहेका छन्।
