काठमाडौँ — कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्ततः पहिलो जित हात पारेको छ । राउन्ड रोबिन लिगमा पहिलो ८ खेल हारेको कोशीले मंगलबार आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । लुम्बिनीको ८ खेलमा यो सातौं हार हो ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको कोशी त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४४.४ ओभर खेल्दै १ सय ७२ रनमा अलआउट भयो । कप्तान एवं ओपनर अंकित सुवेदीले ४९ रन बनाए । उनले ६५ बलमा ९ चौका प्रहार गरे । सौजन घिमिरेले ६९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४३ रन बनाए । मिनास थापाले २५, सोनु अन्सारीले १७ र आइस भट्टराईले १० रन बनाए । लुम्बिनीका नर सार्कीले २ मेडन राख्दै ३८ रन खर्चेर ४, वीर मगरले १ मेडन राख्दै ३४ रन खर्चेर ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट लिए ।
जवाफमा लुम्बिनी ४६.५ ओभरमा १ सय ५६ रनमा अलआउट भयो । दिलसाद अलीले ६४ बलमा २ चौकासहित ३२, विराट भण्डारी २८, सम्राट भुषाल २६, कृष्ण २२ तथा कप्तान सुशान्त थापा र निर्मल गुरुङ समान ११ रनमा आउट भए । कोशीका सौजन घिमिरेले ३ विकेट लिए । प्लेयर अफ द म्याच उनले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चे ।
अभ्यास तिमिल्सिना, कमल खत्री र समिर कार्कीले २–२ विकेट लिए । मूलपानीमा सम्पन्न सानो स्कोरको खेलमा एपीएफ क्लबले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरी शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बनाएको थियो । ८ खेल खेलेको एपीएफसँग १० अंक छ । पुलिस ७ खेलमा १४ अंक जोडेर फाइनलमा पुगिसकेको छ ।
८ खेल खेलेको त्रिभुवन आर्मीसहित सबै ९ खेल खेलिसकेको वाग्मती र मधेश प्रदेश समान १२ अंकसहित दोस्रोदेखि चौथो स्थानमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्न पाउनेछन् भने शीर्ष चार टोली अर्को प्रतियोगिताका लागि छनोट हुनेछ । एपीएफले बुधबार कर्णालीलाई पराजित गरेमा कम्तीमा तेस्रो स्थानमा उक्लने निश्चित हुनेछ ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिम केवल १६.२ ओभर खेल्दै ८७ रनमा अलआउट भयो । नारायण जोशीले ३१ र ओपनर खडक बोहराले २४ रन बनाए । राष्ट्रिय प्रतियोगितामा पहिलो खेल खेलिरहेका चन्दन रामले ५ विकेट लिए । उनले ७ ओभरमा ५१ रन खर्चे । भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट लिए । एपीएफले १५ ओभरभित्र लक्ष्य पूरा गरे पनि टोलीको जित सहज भएन । मध्यक्रममा ब्याटिङ गरेका सन्दीप जोरा १८ रनमा अविजित रहे । आसिफ शेख १५, भुवन कार्की १४, प्रदीप ऐरी १२ बनाए । सुदूरपश्चिमका दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए ।