काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा हिंसा र तोडफोड आपराधिक मानसिकता भएका समूहले गराएको बताएका छन्।
७०औं प्रहरी दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “आन्दोलनको नाममा केही आपराधिक सोच भएका व्यक्तिहरूले देशका महत्त्वपूर्ण सरकारी निकाय, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक संस्था र नागरिकका निजी सम्पत्तिमाथि समेत तोडफोड, आगजनी र लुटपाट गरे।”
मन्त्री अर्यालका अनुसार, ती व्यक्तिहरूको गतिविधिले आन्दोलनलाई शान्तिपूर्ण बाटोबाट हटाउँदै हिंसात्मक बनायो। उनले थपे, “देशभर सयौं प्रहरी कार्यालयमा आगजनी गरियो, सवारी साधन तोडफोड भए, हातहतियार र सुरक्षा उपकरण लुटिए, र प्रहरीमाथि भौतिक आक्रमणसम्म भए।”
तर यति सबै कठिन परिस्थितिमा पनि प्रहरी संगठनले संयमता र धैर्य प्रदर्शन गरेको भन्दै उनले प्रहरीको प्रशंसा गरे।
उनले भने, “नेपाल प्रहरी नागरिक स्पन्दनमा आधारित संगठन हो भन्ने कुरा अहिले नागरिक सहभागितामा भइरहेका पुनर्निर्माण र मर्मत कार्यहरूले पुष्टि गरिरहेको छ।”
