काठमाडौँ – रास्वपा सांसद सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने भएका छन्।
व्यापारीसँगको साँठगाँठ, अकुत सम्पत्ति र स्वार्थको बाझिने विषयमा प्रश्न उठेपछि नियुक्तिको २६ दिनमै (गत वैशाख ९ मा) राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनः नियुक्त गर्न लागेका हुन्। उनको शपथ आज दिउँसो ३ बजे शीतल निवासमा हुँदैछ।
नेपाली राजनीतिमा राजीनामा दिएर छानबिनपछि पुनः मन्त्रालय फर्किने यो घटना नयाँ भने होइन। यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा बिचौलिया राखेर करको दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो। समिति बनेलगत्तै शर्माले राजीनामा दिएका थिए। तर, समितिले दोषी नदेखाएपछि उनलाई पुनः अर्थमन्त्री बनाईएको थियो । अहिले सुधन गुरुङको हकमा पनि ठ्याक्कै त्यही नजिर दोहोरिएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा गठित विशेष समितिले गुरुङलाई सफाइ (क्लिन चिट) दिएपछि उनलाई पुनः भित्र्याउन लागिएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘पूर्वगृहमन्त्री गुरुङको सम्बन्धमा गठित समितिले पेस गरेको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेको छ।’ मन्त्री बन्नेबारे सोधिएको प्रश्नमा उनले घुमाउरो जवाफ दिँदै फाइल अध्ययन गरेर शपथको कुरा हुने बताए।
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गुरुङ रास्वपाभित्र र युवा वृत्तमा आक्रामक नेता मानिन्छन्। आइतबार गोरखामा बोल्दै उनले आफू मन्त्री बनेपछि सुरुका दुई महिना बधाई दिन र फोटो खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई आग्रह गरिसकेका छन्। राजीनामा र छानबिनको नाटकपछि पुनः शक्तिशाली मन्त्रालय फर्किने उनको यो कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।