इजरायलले इरानी आक्रमणको जवाफ मिसाइलमार्फत नै दिएको खबर छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार, इजरायलले इरानको एक क्षेत्रलाई लक्षित गरी मिसाइल दागेको छ ।
समाचार संस्था सीएनएनका अनुसार, इरानको इस्फहान प्रान्तमा विस्फोटको आवाज आएको थियो । अल जजीराले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘इरानको आक्रमणको जवाफमा इजरायलले मिसाइल आक्रमण गरेको छ ।
इरानको सरकारी मिडिया प्रेस टीभीले इरानी अधिकारीलाई उद्धृत गर्दै देशका केही विमानस्थलबाट उडान रद्द गरिएको लेखेको छ । इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ।
एक एयरलाइन्स कम्पनीका लागि इरानको जनसम्पर्क निर्देशकले सरकारी मेहर टीभीमा भनेका छन्, ‘तेहरान, इस्फहान र शिराज जाने सबै उडान पहिल्यै रोकिएको छ ।’
इरानले आफ्नो वायु रक्षा प्रणालीलाई देशका विभिन्न प्रान्तमा सक्रिय पारेको सीएनएनले लेखेको छ ।
अमेरिकी मिडिया एनबीसी न्युजका अनुसार, इजरायलले इरानमा एक क्षेत्रलक्षित मिसाइल आक्रमण गरेको हो ।
इजरायली अधिकारीका अनुसार, १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० भन्दा बढी मिसाइल र ड्रोनहरू हानेको थियो । करिब ३० क्रुज मिसाइलमध्ये २५ लाई इजरायली लडाकु विमानले आकाशमै विस्फोट गराइदिएका थिए । धेरै मिसाइल जमिनमा झर्न पाएनन् । झरेका मिसाइलबाट नेभातिम वायु सेना क्याम्पमा सामान्य क्षति भएको इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले स्थानीय मिडियामा बताएका छन् । आक्रमणमा १० वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।
अमेरिकालगायत सहयोगी देशले तत्काल इरानलाई जवाफ नदिन आग्रह गरे पनि इजरायलले इरानमाथि जवाफी मिसाइल दागेको हो ।
१ अप्रिलमा सिरियाको दमास्कसमा पनि इजरायलले सम्भावित परिणाम नआँकी इरानी वाणिज्य दूतावास भवनमा आक्रमण गरेको थियो, जसमा इरानका ब्रिगेडियर जनरल र दुई वरिष्ठ कमान्डरसहित सात सैन्य अधिकारी मारिएका थिए ।
दमास्कसमा भएको आक्रमणपछि इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही गर्ने कसम खाएको थियो । १३ अप्रिलको आक्रमणलाई इरानले दमास्कस हमलाकै जवाफ भनेको थियो ।