मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित, जग्गा संरक्षण र सुधारमा जोड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुरमा बसेको बैठकले उपकुलपति दीपक अर्यालले पेस गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

पारित नीति तथा कार्यक्रममा त्रिवि तथा क्याम्पसहरूको जग्गा-जमिन संरक्षणलाई उच्च प्राथमिकता दिइएको छ। विश्वविद्यालयको स्वामित्वमा रहेका जग्गामा तारबार तथा घेराबार गरी संरक्षण गर्ने, अतिक्रमण गर्ने व्यक्तिलाई सरकारले कारबाही गर्ने व्यवस्था मिलाइने उल्लेख छ। साथै काठमाडौं उपत्यकाबाहिरका जग्गाको खोजबिन तथा तथ्य-नमुना संकलन गर्न समिति गठन गरिने तथा क्याम्पसस्तरमै पनि जग्गा खोजबिन तीव्र गरिने त्रिविले जनाएको छ।

बैठकमा शिक्षामन्त्री महावीर पुनले त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन अब कार्यान्वयन हुने र राजनीतिक भागबन्डा अन्त्य गर्दै विश्वविद्यालय सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता जोड दिए।

यसैबीच, त्रिविको करिब २५ रोपनी जग्गा हिनामिनासम्बन्धी प्रारम्भिक प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।