संयुक्त राष्ट्रसङ्घको मानवअधिकार आयोगले दक्षिण सुडानका उच्च सरकारी अधिकारीहरू तेलबाट कमाएको अर्बौं डलर हिनामिना गरेको सनसनीपूर्ण खुलासा गरेको छ। देश स्वतन्त्र भएको यता जम्मा भएको करिब २५.२ अर्ब अमेरिकी डलरमध्ये ठूलो हिस्सा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा खर्च भएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार, सबैभन्दा ठूलो भ्रष्टाचार “ओइल फोर रोडस” कार्यक्रममा देखिएको छ। सन् २०२१ देखि २०२४ सम्मका लागि छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब पत्ता लाग्न सकेको छैन। एएफपीका अनुसार, यो रकम उपराष्ट्रपति तथा सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेको निर्माण कम्पनीमार्फत खर्च गरिएको दाबी छ।
सबैभन्दा चिन्ताजनक कुरा के भने, यस प्रकरणमा प्रत्यक्ष संलग्न व्यक्तिलाई दण्डित गर्नुको सट्टा, मेललाई हालै राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा गरिएको छ। यसले दक्षिण सुडानमा भ्रष्टाचार र दण्डहीनता (impunity) कत्तिको गहिरो छ भन्ने देखाउँछ।
यद्यपि, दक्षिण सुडान सरकारले उक्त रिपोर्टलाई “पक्षपाती र एकपक्षीय” भन्दै अस्वीकार गरेको छ। तर अन्तर्राष्ट्रिय समुदायले भने, जनताका लागि स्वास्थ्य, शिक्षा र पूर्वाधारमा खर्च हुनुपर्ने अर्बौं डलर गुमाउनु राष्ट्रकै भविष्यसँग ठट्टा गरेको जस्तो देखिएको टिप्पणी गरेका छन्।
