मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

महाधिवेशनमा रेशु तामाङको नेतृत्वलाई युवाको साथ

पोखरा, नेपाल 
नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको महाधिवेशन हाल पोखरामा भव्य रूपमा जारी छ। यो महाधिवेशन पार्टी संगठनको दृष्टिले मात्र नभई भविष्यको नेतृत्व निर्माणका हिसाबले पनि अत्यन्तै महत्वपूर्ण ठहरिएको छ। महाधिवेशनको प्रमुख आकर्षणका रूपमा अहिले केन्द्रिय सचिव पदमा स्थायी कमिटी सदस्य रेशु तामाङको उम्मेदवारी निकै चर्चामा छ।

स्पष्ट भिजनसहित अगाडि बढ्दै ‘भिजन रेसु’

भिजन रेसु’ भन्ने नारासहित महाधिवेशनमा उपस्थित भएकी रेशु तामाङले संगठनप्रतिको आफ्नो स्पष्ट दृष्टिकोण, युवा लक्षित योजनाहरू, प्रविधिमैत्री सोच र समावेशी नेतृत्वको दृष्टिकोणका कारण युवा कार्यकर्तामाझ विशेष लोकप्रियता हासिल गरिरहेकी छिन्। महाधिवेशनमा सहभागी हजारौं युवाबीच तामाङको नाम एक आशाका रूपमा गुञ्जिरहेको छ।

उनको नेतृत्व क्षमताप्रति पार्टीभित्र र बाहिर दुवैतर्फ सकारात्मक धारणा देखिएको छ। एमालेभित्र उनी एक सशक्त, सक्रिय र दूरदर्शी नेतृका रूपमा चिनिँदै आएकी छन्। ‘रेशु’ नाम अब संगठनभित्र 'उर्जा र प्रतिबद्धता' को पर्याय बन्न थालेको अनुभूति गरिँदैछ।

विद्यार्थी आन्दोलनदेखि युवासंघसम्मको लामो यात्राः संघर्ष र सफलताको कथाहरू

रेशु तामाङको राजनीतिक यात्रा छोटो छैन। उनी लामो समयदेखि एमालेको विद्यार्थी संगठन अनेरास्ववियु हुँदै युवासंघसम्म सक्रिय रूपमा पार्टीमा योगदान दिँदै आएकी छन्। सङ्गठन निर्माण, आन्दोलन, अभियान सञ्चालन र नेतृत्व विकासमा उनको स्पष्ट हस्तक्षेप रहेको छ।

पार्टीका वरिष्ठ नेताहरूले समेत समय–समयमा तामाङको नेतृत्व र कार्यशैलीको खुलेर प्रशंसा गर्दै आएका छन्। विशेषतः कठिन परिस्थितिमा समेत उनले खेलेको अग्रणी भूमिकाले उनलाई एक ‘क्राइसिस म्यानेजर’का रूपमा पनि चिनाएको छ।

समावेशी, प्रविधिमैत्री र प्रभावशाली संघ बनाउने सपना

महाधिवेशनमा प्रस्तुत गरिएको तामाङको भिजन दस्तावेजले युवासंघको भविष्य कस्तो बनाउने भन्ने स्पष्ट खाका प्रस्तुत गर्छ। उनले संगठनलाई प्रविधिमैत्री बनाउँदै युवा पुस्ताको डिजिटल दक्षता अभिवृद्धिमा जोड दिने, महिला, दलित, आदिवासी, जनजाति र पिछडिएको क्षेत्रका युवाको सहभागीता सुनिश्चित गर्ने, र राष्ट्रिय मुद्दामा स्पष्ट हस्तक्षेप गर्ने संगठन बनाउने अठोट व्यक्त गरेकी छन्।

उनले भनिन्, “युवासंघलाई नारा मात्र होइन, नीति निर्माणमा प्रभाव पार्ने संगठन बनाउने समय आएको छ।”

नयाँ ऊर्जा र आशाको प्रतीक

महाधिवेशनका क्रममा धेरै युवा कार्यकर्ताले रेशु तामाङको उम्मेदवारीले संघभित्र नयाँ ऊर्जा थपेको महसुस गरिरहेका छन्। कतिपय कार्यकर्ताहरूका अनुसार उनले युवाहरूको आवाजलाई संस्थागत बनाउने विश्वास जगाएकी छन्।

पोखरामा भइरहेको यस महाधिवेशनले युवा संघ नेपालको आगामी पाँच वर्षको नेतृत्व चयन गर्दै संगठनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वमा के–कसले स्थान पाउने भन्ने चासो तीव्र बनिरहेको बेलामा तामाङको उम्मेदवारीले समग्र महाधिवेशनमा आकर्षण थपेको छ।

युवा संघ नेपालको महाधिवेशन केवल सांगठानिक प्रक्रियाको हिस्सा मात्र होइन, यो नयाँ सोच, नयाँ नेतृत्व र नयाँ युगको संकेत पनि हो। रेशु तामाङजस्ता दूरदर्शी, सशक्त र योजनाबद्ध नेतृहरूको उपस्थितिले संगठनलाई सुदृढ बनाउने आशा गर्न सकिन्छ। 'भिजन रेसु' नाराले व्यक्त गरिरहेको सपना केवल नारामा सीमित नहोस्, व्यवहारमा पनि उत्रियोस् भन्ने अपेक्षा महाधिवेशनमा सहभागी युवाहरूको छ।