मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

काठमाडौं उपत्यका भित्रिने–बाहिरिने गाडी तीन दिनका लागि बन्द

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत तीन दिनका लागि बन्द गरेको छ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै आजदेखि सोमबार (असोज १८, १९ र २० गते) सम्म काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै लामो दूरीका गाडी सञ्चालन नगर्न आग्रह गरेको हो।

भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता सम्भावित जोखिम न्यूनीकरण गर्न यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका गाडीसमेत यसमा पर्नेछन्।

यस अवधिमा यातायात व्यवसायी तथा सर्वसाधारणलाई अत्यावश्यक बाहेक कुनै पनि गाडी सञ्चालन नगर्न अनुरोध गरिएको छ। साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई पनि गाडी आवतजावत पूर्णरूपमा रोक्न प्राधिकरणले निर्देशन दिएको छ।