दुर्गा प्रसाईंले बालेनलाई सुकुमवासीका लागि घर बनाइदिन आग्रह

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन साहलाई सुकुमवासीका लागि घर निर्माण गर्न आग्रह गरेका छन्।

शनिबार काठमाडौंको सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा भाषण गर्दै प्रसाईंले मेयर साहले बस्ती हटाउने योजना ल्याएको भन्दै विरोध गरे। उनले भने, “यो सुकुमवासी समस्या २०५८ सालदेखि रहँदै आएको हो। तपाईंलाई यो बस्ती घिनलाग्दो लाग्छ भने, तपाईंंसँग बजेट छ, सरकारी जग्गा पनि छ — बरु उनीहरूका लागि राम्रो घर बनाइदिनुस्।”

काठमाडौंलाई सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीहरूलाई सडकमा पुर्‍याउने काम नगर्न उनले बालेनलाई आग्रह गरे। प्रसाईंले भने, “तपाईं एसी रुममा बस्नुहुन्छ, घर र सम्पत्ति छ, जमिन्दारको छोरा भएर इन्जिनियर पढ्नुभयो। एसीमा बसेर दारु खानुहुन्छ र स्टाटस लेखेर फेरि डिलिट गर्नुहुन्छ। अहिले तपाईंको काम भनेको भत्काउने र गरिबलाई लेखेट्ने मात्रै भएको छ।”

गरिबहरूको पीडा वर्णन गर्दै प्रसाईंले थपे, “गरिबको छोरा वा छोरीसँग घर जग्गा केही हुँदैन। कोही खोलाको डिलमा बस्न बाध्य छन्, कोही सडक किनारमा। साग, फर्सी, मकै बेचेर पेट पाल्ने ती मानिसहरूलाई तपाईंहरूले शहर सुन्दर बनाउने बहानामा खेद्नुभयो। शहर भने अझै उस्तै छ।”

उनका अनुसार, मेयर साहको कार्यशैलीका कारण काठमाडौंमा व्यवसाय चौपट भएको छ र धेरै सटरहरू बन्द भइरहेका छन्।

प्रसाईंले राजनीतिक दलहरूलाई पनि सुकुमवासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको तर समस्या समाधान नगरेको आरोप लगाए।

कार्यक्रमको अन्त्यमा उनले चेतावनीस्वरूप भने, “सुकुमवासी बस्ती हटाउन कोही आए भने, हामी भिड्न तयार छौं।”