सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ १९ गतेदेखि लागू हुनेगरी खापुङलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
हालका महानिरीक्षक दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि चीन भ्रमणमा प्रस्थान गर्न लागेकाले मन्त्रिपरिषद्ले आजै प्रहरी नेतृत्वमा टुङ्गो लगाएको हो।
हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहनुभएका खापुङ तेह्रथुममा जन्मिनुभएको हो। उहाँ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो।
