मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कोरला नाकाबाट ११ अर्ब १ करोड ९५ लाखको कारोबार, २ हजारभन्दा बढी विद्युतीय गाडी भित्रिए

नेपाल–चीन कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएयता मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको निकासी–पैठारी भएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार गएको भदौ ३० गतेदेखि पूर्ण सञ्चालनमा आएको कोरला नाकाबाट पुस १० गतेसम्मको अवधिमा सो मूल्य बराबरको वित्तीय कारोबार भएको हो।

उहाँका अनुसार हालसम्म कोरला नाका हुँदै चीनतर्फबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरको मालवस्तु नेपाल भित्रिएको छ। यस्तै, नेपालबाट हस्तकला लगायतका नेपाली उत्पादन १८ करोड ९७ लाख ७८ हजार रुपैयाँ बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको छ।

कोरला नाकाबाट हालसम्म २ हजार ७४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। भन्सार प्रमुख खड्काले पर्सि आइतबारदेखि थप चिनियाँ विद्युतीय गाडी नेपाल भित्रिने क्रम सुरु हुने जानकारी दिनुभयो।

यसै महिनामा बीवाईडी कम्पनीले कोरला नाकाबाट ५ सयभन्दा बढी विद्युतीय गाडी चीनबाट निकासी गरिरहेको भन्सार कार्यालयले जनाएको छ। तीमध्ये ३०० भन्दा बढी विद्युतीय गाडी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको पनि भन्सार प्रमुख खड्काले बताउनुभयो।