मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने

आज बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने घोषणा गरेको हो । यस दिन सरकारले सार्वजनिक बिदा दिने पनि निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ ।

सरकारले मृतकका परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको सुविधा दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी, आन्दोलनका क्रममा भएको जनधनको क्षति, ज्यादती र बाहिरी हस्तक्षेपबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।

सरकारले भदौ २३ र २४ मा ज्यान गुमाउने व्यक्तिहरूको स्मृतिमा जेन-जी जागरण स्मारक पार्क स्थापना गर्ने घोषणा पनि गरेको छ ।

यसैगरी, बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेश गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकबाट यी महत्वपूर्ण निर्णयहरू भएका हुन् ।