काठमाडौँ — साउदी अरब अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ। संघीय संसदको संयुक्त सुनुवाइ समितिको बैठकले सुनारको उच्च नैतिक चरित्र नपुगेको र कूटनीतिक मर्यादा अनुकूल नरहेको ठहर गर्दै उनको सिफारिस सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको हो।
सुनुवाइका क्रममा उनीमाथि महिला हिंसा, विवाहेत्तर सम्बन्ध, जर्मनीबाट डिपोर्ट गरिएको र आर्थिक लेनदेनसम्बन्धी गम्भीर प्रश्नहरू उठेका थिए। यद्यपि सुनारले आफूमाथिका कतिपय आरोपहरू अस्वीकार गर्दै पुरानो व्यक्तिगत विवाद मिलापत्र भइसकेको दाबी गरेका थिए, तर समितिले कूटनीतिक पदको गरिमा र नैतिक मापदण्डलाई ध्यानमा राख्दै उनलाई अयोग्य ठहऱ्याएको हो। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका अन्य राजदूतहरूमध्ये १० जनाको नाम भने समितिबाट सर्वसम्मतिले अनुमोदन भइसकेको छ।